News बानेश्वर र एबीसी भेट्रान्स फाइनलमा भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी आठौं राष्ट्रिय भेट्रान्स कप एट ए साइट फुटबल प्रतियोगिताको फाइनलमा बानेश्वर भेट्रान्स, काठमाडौं र साविक विजेता एबीसी भेट्रान्स, पोखरा भिड्ने भएका छन् ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा बानेश्वरले सिमरा भेट्रान्सलाई ४–० को फराकिलो अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । बानेश्वरको जितमा नारायाण कार्कीले दुई गोल गरे भने उमेश लामा र युवराज भुजेलले एक–एक गोलको योगदान दिए । खेलमा बानेश्वरका नारायण कार्की म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा एबीसीले मनाङ मस्र्याङ्दी भेट्रान्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधि नजिक पुग्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने मनाङ चुक्न पुग्यो । खेलमा एबीसीका गोलरक्षक खिम बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १११ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Post Comments