News बिमल मच्छिन्द्र मै रहने तय
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्ना स्टार फरवार्ड बिमल घर्ती मगरसँगको सम्झौता नवीकरण गरेको छ । यो सम्झौतासँगै बिमल नयाँ सिजनका लागि पनि मच्छिन्द्र मै रहने तय भएको छ । यद्यपि दुवै पक्षबीच भएको आर्थिक सम्झौताबारे भने खुलाइएको छैन ।

बिमलसँग सम्झौता नवीकरण गरेको बारे क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ । बिमलले गत सिजन मच्छिन्द्रका लागि लिगमा चार गोल गरेका थिए । त्यतिबेला लामो समयको चोटपछि मैदान फर्किएका बिमलले अपेक्षाअनुसार प्रदर्शन गर्न नसके तापनि मच्छिन्द्रका लागि लिग उपाधि भने जित्न सफल भएका थिए ।

बिमलले हाल पोखरामा जारी २२औं आहा! रारा पोखरा गोल्डकपमा पनि मच्छिन्द्रका लागि खेलेका थिए । यद्यपि टोली चर्च ब्वाईजसँग क्वाटरफाइनल मै पराजित भएको थियो ।

स्मरण रहोस, मच्छिन्द्रले नयाँ सिजन कै राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई पनि केही दिन अघि अनुवन्ध गरेको कुरा सामाजिक सञ्जालमार्फत घोषणा गरेको थियो ।

Post Comments