News एबीसीलाई आठौं राष्ट्रिय भेट्रान्स कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ सम्पन्न आठौं हेटौडा राष्ट्रिय भेट्रान्स कप एट ए साईड फुटबल प्रतियोगिताको उपाधि साविक विजेता एबीसी भेट्रान्स, पोखराले जितेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा एबीसीले बानेश्वर भेट्रान्स, काठमाडौंलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । एबीसीको जितमा नरेन्द्र जंग गुरुङ, कन्या सुव्वा र राजकुमार घिसिङले गोल गरेका थिए ।

विजेता बनेको एबीसीले उपाधिसहित नगद १ लाख ११ हजार १११ रुपैयाँ हात पार्यो भने उपविजेता बानेश्वरले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ एबीसीका राजकुमार घिसिङ सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि एबीसीकै खिम गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि एबीसी कै कन्या सुब्बा चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर बिजय गुरुङ बन्दा उत्कृष्ट प्रशिक्षक खेमबहादुर गुरुङ बने । उत्कृष्ट फरवार्ड भने बानेश्वर भेट्रान्सका युवराज भुजेल घोषित भए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रममा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रमेशकुमार उप्रेती तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया“ले लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । हेटौंडा भेट्रान्स क्लब, हेटौडाको आयोजनामा पौष २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments