News महानगर प्याब्सन फुटसल हुने
गोलनेपाल

काठमाडौं । काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष स्थानमा रहने टिम मात्र सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छ ।

विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।

उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ ।

Post Comments