News चन्द्रपुर र वालिङ उपाधिका लागि भिड्ने
गोलनेपाल

रौतहट । चन्द्रपुर नगरपालिका, रौतहट र वालिङ नगरपालिका, स्याङजा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार भएको दुई सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै घरेलु टोली चन्द्रपुर र वालिङले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रपुरले डिफेन्डिङ च्याम्पियन बिराटनगर महानगरपालिकालाई २–० ले हरायो ।

चन्द्रपुर–६ स्थित शेरबहादुर दर्लामी स्मृति खेलमैदान मै भएको खेलमा चन्द्रपुरका लागि ३५औं मिनटमा रजनी थोकरले पहिलो गोल गरिन् भने ७५औं मिनटमा मेनुका नगरकोटीले दोस्रो गोल गरेकी थिईन् । खेलको वुमन अफ द म्याच मेनुका नै घोषित भईन् । उनले पुरस्कार वापत ट्रफी र पाँच हजार प्राप्त गरिन् ।

त्यस्तै सोही मैदानमा भएको दोस्रो सेमिफाइनलमा वालिङले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई समान २–० गोल अन्तरले हरायो । वालिङको जितमा दुवै गोल अमिषा कार्कीले १५ र ७६औं मिनटमा गरिन् । खेलको वुमन अफ द म्याच भने वालिङकी सरिश्मा थापा घोषित भईन् ।

अब उपाधिका लागि चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका यहि माघ १८ गते शनिबारका दिन फाइनलमा भिड्ने छन् । फाइनल खेल दिनको २ बजेदेखि शुरु हुने आयोजक रौतहट जिल्ला फुटबल संघले जनाएको छ ।

Post Comments