News ओलम्पिक छनौटमा नेपालको प्रतिद्वन्द्वी भियतनाम, प्यालेस्टाईन र अफगानिस्तान
गोलनेपाल

काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियन छनौटतर्फ पहिलो चरणका लागि नेपाल समूह सी मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले निकालेको ड्र अनुसार यो सूहमा नेपालसँगै बलियो भियतनाम, प्यालेस्टाईन र अफगानिस्तान रहेका छन् ।

छनौट प्रतियोगिताका खेलहरु आउँदो अप्रिल ३ देखि ११ तारीखको बीचमा हुने एएफसीले जनाएको छ । छनौट प्रतियोगिताको खेल आयोजकबारे भने एएफसीले पछि घोषणा गर्ने सम्भावना रहेको छ ।

छनौट प्रतियोगितामा एसियाका कुल २६ टोलीहरुलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । स्मरण रहोस, शिर्ष एसियाका वरियतामा रहेका जापान, अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया र चीन भने यसअघि नै दोस्रो चरणमा स्थान बनाईसकेका छन् ।

त्यस्तै पहिलो चरणबाट छनौट भई आएका सात टोली र शिर्ष वरियताका पाँच टोली गरी कुल १२ टोलीहरुले दोस्रो चरणमा तीन समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणको छनौट प्रतियोगिताबाट शिर्ष स्थान हासिल गर्ने तीन टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने एक टोलीबीच तेस्रो चरणको निर्णायक प्रतिस्पर्धा हुनेछ ।

होम एण्ड अवेका आधारमा हुने उक्त प्ले अफ राउण्डबाट शिर्ष दुई स्थान हासिल गर्ने दुई टोलीहरु सन् २०२४ को प्रतिष्ठित ओलम्पिकतर्फ महिला फुटबल प्रतियोगिताका लागि छनौट हुनेछन् ।

 

Post Comments