News संकटालाई सेमिफाइनलमा पुर्याउन मेसुके बने निर्णायक
बिक्रम बानियाँ क्षेत्री

फापरबारी । स्टार खेलाडीहरु भित्राएर बलियो टिम तयार पारेको संकटा क्लब यहाँ जारी पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगित ाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा संकटाले विभागीय टोली एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । बागमती गाउँपालिका–८ स्थित जनता माविको खेलमैदानमा भएको खेलको अन्तिमतिर ८५औं मिनटमा मेसुके ओलुमुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

मेसुके नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । संकटाले दोस्रो सेमिफाइनलमा माघ १ गतेका दिन घरेलु टोली मकवानपुर–११ सँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत पौष ३० गतेको पहिलो सेमिफाइनल जावलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकाबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ ३ गतेका दिन हुनेछ ।

Post Comments