News केराबारी माघे संक्रान्ती कपको फाइनलमा
गोलनेपाल

बेलबारी । केराबारी फुटबल क्लब, केराबारी यहाँ जारी तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा केराबारीले डाँगीहाट युथ क्लब, लक्ष्मीमार्गलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा केराबारीले २२औं मिनटमा भुवन बस्नेतको गोलबाट अग्रता लिएको थियो । ५८औं मिनटमा रोशन भुजेलले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता डाँगीहाटका लागि ६९औं मिनटमा प्रबिन राईले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । खेलमा केराबारीका रोशन भुजेल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत पौष ३० गतेको दोस्रो सेमिफाइनल खेल नक्सलबारी फुटबल क्लब, नक्सलबारी र एपिएफ क्लब, पकलीबीच हुने आयोजकले जानकारी दियो ।

माघे संक्रान्तीको अवसर पारी नेपाल मगर संघ, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार ५ सय प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments