News मिडियाकप फुटसलः आयोजक र साझाकुरा फाइनलमा
गोलनेपाल

हेटौंडा । प्रथम रेडियो मकवानपुर कप फुटसल प्रतियोगिताको उपाधीका लागि आयोजक रेडियो मकवानपुर र साझाकुरा दैनिक भिड्ने भएका छन् । कुल ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

यसअघि भएको पहिलो चरणको खेलमा रेडियो बुलेटिनले रेडियो सन्देशलाई ४–३ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा बुलेटिनका मसान उपासक म्यान अफ द म्याच घोषित भए । दोश्रो खेलमा रेडियो थाहा सञ्चारले पत्रकार महासंघ मकवानपुर शाखालाई ५–३ गोल अन्तरले हरायो । उक्त खेलमा रेडियो थाहाका मणिराज गौतम म्यान अफ द म्याच भए ।

त्यस्तै रेडियो मकवानपुर र टिम टिभिबीच भएको खेलमा रेडियो मकवानपुर ४–० गोल अन्तरले विजयी भयो । उक्त खेलमा रेडियो मकवानपुरका विक्रम बानियाँ म्यान अफ द म्याच भए । हेटौंडा एफएमले प्रतियोगितामा उपस्थित नजनाएपछि साझाकुराले सोझै सेमीफाइनलमा स्थान बनाएको थियो ।

शुक्रबार नै भएको पहिलो सेमीफाइनल खेलमा रेडियो मकवानपुरले रेडियो थाहा सञ्चारलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा पक्का गर्यो । खेलमा रेडियो थाहा सञ्चारका गोलरक्षक अमर लामा म्यान अफ द म्याच भए ।

त्यस्तै, शुक्रबार नै भएको दोश्रो सेमीफाइनल खेलमा साझाकुरा दैनिकले बुलेटिन एफएमलाई ३–१ गोल अन्तरले पराजित गर्यो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि साझाकुराले अतिरिक्त समयमा थप २ गोल गर्दै ३–१ गोल अन्तरको जित निकालेको हो । उक्त खेलमा साझाकुराका सुवास विडारी म्यान अफ द म्याच भए ।

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार साझाकुरा र रेडियो मकवानपुर उपाधीका लागि खेल्नेछन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

Post Comments