News आयोजक त्रिपुरासुन्दरीलाई प्रथम सल्यानटार गोल्डकपको उपाधि
गोलनेपाल

सल्यानटार । धादिङ जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको प्रथम सल्यानटार गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक त्रिपुरासुन्दरी युवा समाजले जितेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार, धादिङचौरमा भएको फाइनल भिडन्तमा आयोजक त्रिपुरासुन्दरीले रोयल सल्यानटारी फुटबल क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

विजेता बनेको त्रिपुरासुन्दरीले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता रोयल सल्यानटारले नगद ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

आयोजक त्रिपुरासुन्दरीका सदिप उप्रेती उत्कृष्ट गोलरक्षक बने भने गणेशथान युवा क्लबका सर्जु गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । गुरुङले प्रतियोगिताभरि कुल ९ गोल गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रमका दिन आयोजकले अन्तर विद्यालयस्तरिय नृत्य प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त नृत्य प्रतियोगितामा रानिपौवा विद्यालय प्रथम र त्रिपुरासुन्दरी माध्यमिक विद्यालय दोस्रो भएको थियो ।

विष्णुहरि उप्रेतीको संयोजनमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि धादिङका संघीय सांसद रामनाथ अधिकारी, विशेष अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, नेपाली काँग्रेसका नेता बासु तिमल्सिना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती लगायतले विजयी खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

Post Comments