News रोहितको डेब्यु गोलमा पेर्सिकको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा नयाँ क्लब पेर्सिक केडिरी एफसीका लागि खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले क्लबका लागि बिहीबार पहिलो गोल गरेका छन् ।

लिगको १८औं खेलमा दोस्रो जित दर्ता गर्ने क्रममा पेर्सिकले भयङ्गकारालाई ३–२ ले हरायो । खेलको आठौं मिनट मै रोहितले क्लबका लागि डेब्यु गोल गरे । १४औं मिनटमा रेनान सिल्वाले पेनाल्टीमार्फत त्यो अग्रता दोब्बर पारे ।

यद्यपि भयङ्गकारा पहिलो हाफ मै खेलमा फर्किएको थियो । ३०औं मिनटमा टाईटन फवाजीले भयङ्गकाराका लागि पहिलो गोल गरे भने पहिलो हाफ कै अतिरिक्त समयमा सानी फौजीले पेनाल्टीबाट गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला ८२औं मिनटमा रियात्नो अवियोसोले पेर्सिकका लागि तेस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक र महत्वपूर्ण जित दिलाए ।

यो जितका बावजुद यस सिजन खराब लयमा रहेको पेर्सिक १८ खेलबाट १३ अंकका साथ पुछार मै संघर्षरत छ । उता पराजित भयङ्गकारा भने १९ अंकका साथ १३औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल मंगलबार मदुरा युनाइटेडसँग खेल्नेछ ।

Post Comments