News भिष्म चम्किदा केबिए ग्लोबल भरतपुर फाइनलमा
गोलनेपाल

माडी । केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवन यहाँ जारी २४औं माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भरतपुरले घरेलु टोली माडी–११ लाई २–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

बसन्तपुर बजार स्थित खुला मैदानमा भएको खेलमा भरतपुरको जितमा भिष्म क्षेत्री नायक बने । भरतपुरलाई फाइनलमा पुर्याउन टोलीका लागि दुवै गोल भिष्मले गरेका थिए । उता पराजित माडीका लागि अस्विक दुराले एक मात्र गोल फर्काएका थिए । खेलमा माडीका अस्विक दुरा नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ १२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल चित्लाङ्ग फुटबल क्लब, काठमाडौं र सेन्ट्रल कलेज रामपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १४ गतेका दिन हुनेछ ।

Post Comments