News राष्ट्रिय खेलाडी निर कुमार राई पनि विदेशिए
गोलनेपाल

काठमाडौं । नेपालका शिर्ष लिग खेलिरहेका अधिकांश खेलाडीहरुको विदेश पलायनको यात्रा निरन्तर बढीरहेको छ । नेपाली फुटबलमा भविष्य नदेखेपछि विदेश पलायनको बाटो रोज्ने अर्का राष्ट्रिय खेलाडी बनेका छन्, निर कुमार राई ।

घरेलु फुटबलमा लामो समय विभागीय टोली नेपाल पुलिस क्लबबाट खेलेका राई सुनिश्चित भविष्य कै लागि युएई पुगेका छन् । युएईमा कामसँगै उनले अबुधाबीमा रहेको नेपाली कम्युनिटी क्लब नखिल गुर्खाज एफसीबाट फुटबल पनि खेल्नेछन् ।

नखिल गोर्खाज मै नेपाल पुलिस क्लबका अनुभवी गोलरक्षक रोशन खड्का पनि छन् । आर्मीका विवेक बस्नेत पनि सोही क्लबमा आवद्ध छन् । खड्का र बस्नेत पनि हालै युएई पुगेका थिए ।

स्मरण रहोस, निर कुमार राईले गत जेठमा कुवेतमा भएको एएफसी एसियन कप छनौटको तेस्रो चरणतर्फ इण्डोनेसिया विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सो खेलमा नेपाल ७–० ले पराजित भएको थियो ।

त्यस्तै नेपालको पहिलो फ्रेञ्चाईज नेपाल सुपर लिगमा उनले गत सिजन बिराटनगर सिटी एफसीका लागि खेलेका थिए । तर यसपटक सुपर लिग आयोजनाको टुंगो भने अझैं लागेको छैन ।

नेपालमा शिर्ष फुटबल अनिश्चित बन्दै गएपछि राई जस्तै थुप्रै अन्तर्राष्ट्रिय खेलाडीहरु विदेश पलायन भईसकेका छन् । र, यो क्रम अझै जारी रहने धेरैको ठम्याई छ ।

 

Post Comments