News आठराई 'ए' गजेन्द्र स्मृति कपको सेमिफाइनलमा
रमेश समदर्शी

खाम्लालुङ (तेह्रथुम) । आठराई गाउँपालिकाको टिम ए यहाँ आयोजित गजेन्द्र इस्वो स्मृति रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आठराई ४ इवालाई टाइब्रेकरमा पराजित गर्दै आठराई टिम ए अन्तिम चारमा प्रवेश गरेको हो ।

आठराई २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेका थिए । इवाका लागि मनिष थापामगरले गोल गर्दै अग्रता दिलाए पनि आठराईका सुनिल चोङवाङले गोल गर्दै बराबरी गरेका थिए ।

टाइब्रेकरमा आठराईले इवालाई ३-१ गोलअन्तरमा पराजित गरेको हो । इवाका लागि कप्तान बिङकल इङनामको प्रहारमात्र गोलमा परिणत भयो भने आठराईका प्रदिप फोम्बो, उमेश कन्दङ्वा र युगल चोङवाङ प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि भएको अन्तिम प्रिक्वाटर खेलमा आठराई गापा बीलाई  विराटनगरको डाइमण्ड एफसीले ३-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसका लागि धिरेन क्षेत्री, रोनी तामाङ र नितेश लिम्बूले गोल गरे ।

यस्तै, महिलातर्फ भएको उद्घाटन खेलमा झापाको शिवसताक्षी नगरपालिकाले जित दर्ता गरेको छ । आयोजक टोलीलाई ४-० गोलले पराजित गर्दै शिवसताक्षी सेमिफाइनलमा प्रवेश गरेको छ ।

शिवसताक्षीका लागि मनिषा भट्टराईले २ गोल गरिन् भने अविना राई र खुश्मा राईले एक-एक गोल गरिन् । महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले नगद ४० हजार पाउनेछ ।

आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको पुरुषतर्फको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउनेछ ।

Post Comments