News दोस्रो सोनापुर गोल्डकपमा दमकको विजयी शुरुवात
गोलनेपाल

दुहबी । मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा शनिबारदेखि शुरु दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी, झापाले विजयी शुरुवात गरेको छ ।

दुहबी–८ स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा भएको उद्घाटन खेलमा दमकले पुर्वाञ्चल युनाइटेड क्लब, मोरङ्गलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

दमकको जितमा खेलको ६१औं मिनटमा संजय धिमालले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता धिमाल नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितसँगै दमक सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत माघ २२ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा–११ फुटबल क्लब, उदयपुर र इटहरी फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, सुनसरीको संयोजन तथा दुहबी नगरपालिका वार्ड नम्बर ८ को सह–संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी दहुबी नगरपालिका, सुनसरीका नगर प्रमुख वेदनारायण गच्छदारले गरेका थिए ।

Post Comments