News दमक बन्यो दोस्रो सोनापुर गोल्डकप च्याम्पियन
गोलनेपाल

दुहबी । आत्मघाती गोल निर्णायक बन्दा यहाँ सम्पन्न दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक फुटबल एकेडेमी, झापाले जितेको छ ।

दुहबी–८ सोनापुर प्लाटिङ्ग खेलमैदानमा भएको फाइनल भिडन्तमा दमकले इटहरी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बन्न सफल भएको हो । दोस्रो हाफको ५१औं मिनटमा इटहरीका प्रवेश दनुवारले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको दमकले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता इटहरीले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । इटहरीका रमेश राजवंशी फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र मेडल हात पारे ।

उत्कृष्ट गोलरक्षक दमकका योगेश धिमाल चुनिए भने उत्कृष्ट डिफेन्डर पनि दमक कै रोशन धिमाल घोषित भए । उत्कृष्ट मिडफिल्डर इटहरीका निश्चल मोक्तान घोषित भए भने उत्कृष्ट फरवार्ड दमकका संजय धिमाल चुनिए । उत्कृष्ट प्रशिक्षक पनि दमक कै कुमार गिरी बने ।

उदीयमान खेलाडी आयोजक मेमोरी युवा क्लबका सबिन रिजाल घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३५–३५ सय र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ता भुवन बस्नेत बने । उनले त्यसवापत नगद ४ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने दमकका आशिष लावती घोषित भए । त्यसवापत उनले नगद ५ हजारसहित ट्रफी हात पारे ।

मेमोरी युवा क्लब, दुहबी, सुनसरीको आयोजनामा माघ २१ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments