News खुम्बु ल्होसार कप: जुभिङ शेर्पा र खुम्बु युनाइटेडलाई सफलता
गोलनेपाल

काठमाडौं । जारी १३औं खुम्बु ल्होसार कप प्रतियोगितामा जुभिङ शेर्पा किदुक र खुम्बु भेटेरन्स युनाइटेड क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

सानोगौचरण खेलकुद मैदानमा भएको खेलमा जुभिङ शेर्पा किदुक क्लबले महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरमलाई ट्राईब्रेकरमा पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा कुनै टिमले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । यद्यपि टाईब्रेकरमा जुभिङ शेर्पा क्लबले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ द म्याच पेम्बा दावा शेर्पा चुनिए ।

यस्तै अर्को खेलमा खुम्बु भेटेरन्स युनाइटेड क्लबले सहज जित हासिल गरेको छ । खुन्दे कम्युनिटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै खुम्बु भेटेरन्स युनाइटेड क्लबले सुखद सुरुवात गरेको हो । खुम्बु भेटेरन्स युनाइटेडका लागि मिङ्मा शेर्पा र तेन्जिङ डेभिड शेर्पाले एक-एक गोल गरे । उत्कृष्ट पर्दशन गरेका तेन्जिङ डेभिड शेर्पो म्यान अफ द म्याच चुनिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका– खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन । शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष – ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि प्रतियोगिता आयोजना हुदैँ आएको छ ।
 
Post Comments