News नेपाल र भारतको दोस्रो बराबरी
गोलनेपाल

काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि भारतलाई बराबरीमा रोकेको छ । पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको रोमाञ्चक बराबरी खेलेको नेपालले शनिबार भारतलाई गोलरहित बराबरीमा रोक्यो ।

चेन्नई स्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले आफूभन्दा निकै माथिल्लो वरियताको भारतसँग जुझारु प्रदर्शन गर्दै भारत भ्रमणलाई सुखद रुपमा समापन गर्न सफल भयो । शनिबार भारत विरुद्ध नेपाली टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको प्रदर्शन पनि तारिफयोग्य रह्यो ।

फिफा वरियतामा भारत ६१औं स्थानमा छ भने नेपाल १०३औं स्थानमा छ । तुलनात्मक रुपमा भारतसँग सधै कमजोर प्रदर्शन गर्दै आईरहेको नेपालले दुई मैत्रीपूर्ण खेलमा भने समग्रमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

स्मरण रहोस, नेपाल र भारत यसै वर्ष हुने एएफसी ओलम्पिक छनौटको तयारीमा समेत छन् । छनौट प्रतियोगिता अन्तरगत नेपाल समूह सी मा परेको छ । जहाँ नेपालले बलियो भियतनामसँगै प्यालेस्टाईन र अफगानिस्तानसँग खेल्नेछ । उता समूह जी मा रहेको भारतले किर्गिस्तान र तुर्कमेनिस्तानसँग खेल्नेछ ।

Post Comments