News मनाङ र पुलिसले पाए २२औं बुढासुब्बा गोल्डकपको पुरस्कार रकम (विज्ञप्तीसहित)
गोलनेपाल

धरान । प्रतिष्ठित बुढासुब्बा गोल्डकपको २२औं संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लब र उपविजेता नेपाल पुलिस क्लबले पुरस्कार वापतको पाउनुपर्ने रकम आयोजकबाट प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न भएको बर्षौं बितिसक्दा पनि पुरस्कार रकम नपाएपछि सम्बन्धित क्लबहरुले आयोजक धरान फुटबल क्लब विरुद्ध असन्तुष्टी व्यक्त गरेका थिए ।

केही महिना अघि पोखरामा सम्पन्न आहा! रारा पोखरा गोल्डकपमा धरान एफसीले सहभागिता जनाउँदा मनाङले धरानलाई सहभागिता जनाउन नदिन भन्दै सम्बन्धित निकायलाई पत्राचार गरी उजुरी समेत दिएको तियो । त्यतिबेला यो कुराले मिडियामा थप चर्चा पाएपछि आयोजक धरान एफसीले आलोचना पनि खेप्नु परेको थियो ।

यद्यपि धरान एफसीले २२औं बुढासुब्बा गोल्डकपको समापन पश्चात फैलिएको कोरोना महामारी, प्रायोजकबाट उठ्नु पर्ने रकम पनि उठन नसकेपछि र अन्य विविध कारणले पुरस्कार रकम वितरणमा ढिलाई भएको बताएको थियो । साथै क्लबले २३औं बुढासुब्बा गोल्डकप शुरु हुनुअघि नै सम्बन्धित क्लबलाई पुरस्कार रकम हस्तानतरण गर्ने प्रतिवद्धता पनि जाहेर गरेको थियो ।

सोही अनुरुप धरान एफसीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै २२औं बुढासुब्बा गोल्डकपको विजेता मनाङ र उपविजेता पुलिसलाई दिनुपर्ने बाँकी रकम १२ लाख ५० हजार हस्तान्तरण गरेको छ । विजेता मनाङले १० लाख पाउनु पर्ने थियो । जसमा पहिल्यै प्राप्त रकम बाहेक बाँकी रकम ७ लाख ५० हजार मनाङलाई तथा उपविजेता रकम ५ लाख पुलिस क्लबलाई हस्तान्तरण गरिएको धरान एफसीका अध्यक्ष किशोर राईले बताए ।

स्मरण रहोस, धरान एफसीले यही फागुन १३ गतेदेखि शुरु हुन गईरहेको २३औं बुढासुब्बा गोल्डकपको लागि आवश्यक तयारी पनि शुरु गरिसकेको जानकारी दियो ।

हेर्नुहोस धरान एफसीको प्रेस विज्ञप्तीः

Post Comments