News ठमिछोवालाई खुम्बु ल्होसार कपको उपाधि
गोलनेपाल

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ फुटबलको १३ औं संस्करणको उपाधि ठमिछोवा फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३ - १ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । ठमिछोवा क्लबले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

फाइनलको उपाधि जित्न नसके पनि नाम्चे युवा क्लब दोस्रो (सेकन्ड् रनर् अप्) बन्न सफल भएको छ । दोस्रो बन्न सफल नाम्चे युवा क्लबले ५० हजार नगदसहित र मेडल मेडल प्राप्त गरेको छ ।

तेस्रो स्थानका लागि सम्पन्न खेलमा जुभिङ शेर्पा कुदिक क्लबलाई पराजित गर्दै आमाडब्लम तेस्रो भयो । आमाडब्लमले जुभिङ शेर्पा क्लबलाई २ - ० गोलअन्तरले पराजित गर्यो । तेस्रो बन्न सफल आमाडब्लम युवा क्लबले २५ हजार नगदसहित मेडल प्राप्त गरेको छ ।

शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरका खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आएको छ । 

शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको हो । काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका– खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
 
 
Post Comments