News संकटा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भद्रपुर । साँघुरो अन्तरको जितका साथ संकटा क्लब जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा घरेलु टोली भद्रपुर ब्लेजर्सलाई ०–१ ले हराउँदै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।

मेची रंगशालामा भएको खेलको शुरुवाततिरै मनिष डाँगीले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो । खेलमा संकटा कै गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १० गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भद्रपुर झापा गोल्डकप आयोजक कमिटीको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

Post Comments