News मकवानपुरमा दिप कार्कीलाई बुलेट बाईक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकपमा सर्वोत्कृष्ट खेलाडीका लागि हेटौडा स्कुल अफ म्यानेजमेण्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दिप कार्कीले हात पारेका छन् ।

मनाङलाई बुधबार सम्पन्न मकवानपुर गोल्डकपको उपाधि जिताउन प्रतियोगिताभरि अहम भूमिका खेलेका कार्कीले सर्वोत्कृष्ट खेलाडी बने वापत बुलेट बाईक हात पारेका हुन् । दिप प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि चुनिए । त्यसवापत उनले नगद २५ हजार र ट्रफी हात पारे ।

उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पा क्लबका अमृत श्रेष्ठ घोषित भए भने उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा बने । उत्कृष्ट फरवार्ड शेर्पाका यमी घोषित हुँदा उत्कृष्ट प्रशिक्षक मनाङका किरन श्रेष्ठ बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख माया लामा, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा लगायतले पुरस्कृत गरेका थिए ।

स्मरण रहोस, बुधबार भएको प्रतियोगिताको फाइनल भिडन्तमा मनाङले हिमालयन शेर्पालाई १–० ले हराउँदै पाँचौं मकवानपुर गोल्डकपको उपाधि जितेको थियो । मनाङका लागि रोशन राना मगरले एक मात्र निर्णायक गोल गरेका थिए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments
Advertisement Yamaha Nepal