News २८ बिगाहा क्लब कञ्चन कपको सेमिफाइनलमा
सुरज राना मगर

दियोबजार । संघर्षपुर्ण जितका साथ २८ बिगाहा एफसी, नवलपुर यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ २८ बिगाहाले देवदह ब्वाईजलाई सडन डेथमा ७–६ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यसअघि कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा २८ बिगाहा एफसीका गोलरक्षक छिरिङ्ग तामाङ्ग म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र फोर ब्रदर्श एफसी, नवलपरासीबीच हुने खेल संयोजक शंकर थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन २० गतेका दिन हुनेछ ।

Post Comments