News झापा: स्व दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता वैशाख ३१ गतेदेखि
रमेश समदर्शी

झापाको बिर्तामोडमा स्व दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

डोमालाल राजवंशी रंगशालामा वैशाख ३१ गतेदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक निलाेले हाम्रो इटहरी भेट्रान्स एफसीको सामना गर्नेछ । प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक निलो रहेका छन् ।

जेठ ७ गते फाइनल खेल हुने क्लबका कार्यवाहक अध्यक्ष दिपेन चौधरीले जानकारी दिए । संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ कार्यवाहक अध्यक्ष चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

पत्रकार सम्मेलनमा स्वागत क्लबका उपाध्यक्ष प्रकाश सुवेदीले गरेका थिए भने सञ्चालन क्लबका सचिव दिवाकर प्रसाईंले गरेका थिए । अध्यक्ष श्रेष्ठले विजेताको नगद पुरस्कार प्रदान गरेका छन् भने उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजकका लागि बिर्तामोडको जोया ब्रान्डले जर्सी र टिसर्ट उपलब्ध गराएको छ ।

Post Comments