News एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भद्रपुर । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा एपिएफले कावरन बजार प्रगति संघ, बंगलादेशलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि मेची रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा एपिएफका गोलरक्षक अन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । एपिएफले दोस्रो सेमिफाइनलतर्फ आइतबार मच्छिन्द्र एफसीसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन १३ गते शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।

Post Comments