News वार्ड नम्बर ८ लाई पाँचौं दुहबी मेयर कपको उपाधि
गोलनेपाल

दुहबी । पाँचौं दुहबी मेयर वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ८ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ६ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै वार्ड नम्बर ८ च्याम्पियन बनेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको ७१औं मिनटमा सबिन रिजालले गरेको एक मात्र गोल निर्णायक बन्यो । वार्ड नम्बर ८ कै नवराज चौधरी म्यान अफ द फाइनल म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ८ का सुजित चौधरी बने । उत्कृष्ट डिफेन्डर पनि वार्ड नम्बर ८ कै सबिन रिजाल चुनिए । उत्कृष्ट मिडफिल्डर पनि वार्ड नम्बर ८ कै अनिष बिष्ट बन्दा उत्कृष्ट फरवार्ड नम्बर ६ का मनिष बिक घोषित भए ।

उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर ८ का सुनिल माझी घोषित हुँदा फेयर प्ले पुरस्कार वार्ड नम्बर १२ ले हात पार्यो । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजारसहित ट्रफी प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता भने वार्ड नम्बर ८ का विवेक मिश्र र वार्ड नम्बर ६ का जितेन्द्र चौधरी बने । दुवै खेलाडीले ६ हजार आपसमा बाँडे ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने वार्ड नम्बर ६ का अजय गोश्वामी घोषित भए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, उपमेयर मेनुका पोखरेल लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको व्यवस्थापन र संयोजनमा फागुन १ गतेदेखि शुरु भएको प्रतियोगितामा दुहबी नगरपालिकाका कुल १२ वार्डका टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments