News मेसी बने फिफा वर्ष खेलाडी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्जेन्टिनी सुपरस्टार तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेसीले सन् २०२२ को प्रतिष्ठित फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् । ३५ वर्षिय मेसीको यो दोस्रो द बेस्ट फिफा अवार्ड समेत हो । उनले यसअघि सन् २०१९ मा पहिलोपटक यो अवार्ड जितेका थिए ।

गत वर्ष करियर कै पहिलो र ऐतिहासिक फिफा विश्वकपको उपाधि जिताएका मेसीले सन् २०२१–२२ को सिजनका देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

मेसीले यो अवार्डका दुई फ्रेन्च स्टार किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । मेसीले यो अवार्डका लागि कुल ५२ अंक हात पार्दा एम्बाप्पे र बेन्जेमाले क्रमशः ४४ र ३४ अंक प्राप्त गरे ।

पुरुष विधातर्फ अन्य अवार्डमा पनि अर्जेन्टिना कै वर्चश्व रह्यो । द बेस्ट फिफा गोलकिपरको अवार्ड अर्जेन्टिना कै इमिलियानो मार्टिनेजले हात पारे भने उत्कृष्ट प्रशिक्षक पनि अर्जेन्टिना कै लियोनल स्कालोनी घोषित भए ।

महिलातर्फ यो अवार्ड भने स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले हात परिन् । उनले यो अवार्ड लगातार दोस्रोपटक जित्न सफल भएकी हुन् । सन् २०२१ को यो अवार्ड पनि पुटेलासले आफ्नै पोल्टामा पारेकी थिईन् । महिलातर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड भने इङल्याण्डकी सरिजा विगम्यानले प्राप्त गरिन् ।

फिफा पुस्कास अवार्ड भने पोल्याण्डका पारा फुटबल खेलाडी मार्सिन ओलेक्सीले प्राप्त गरे । पारा खेलाडीले यो अवार्ड हात पारेको इतिहास मै पहिलोपटक समेत हो । उनले फ्रान्सका दिमित्री पायट र ब्राजीलका रिचार्लिसनलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् ।

फिफा फ्यान अवार्ड पनि अर्जेन्टिनाले नै प्राप्त गर्न सफल भयो ।

Post Comments