News झापा: अर्जुनधारामा शनिश्चरे एफसीले यु-१८ प्रशिक्षण गर्ने
रमेश समदर्शी

झापा लिग च्याम्पियन शनिश्चरे फुटबल क्लबले १८ वर्षमुनिका खेलाडीलाई प्रशिक्षण दिने भएको छ । क्लबले माघ अन्तिम साता अर्जुनधारा नगरपालिकाभित्रका ११ वटा वडाको सहभागिता गराएर यु-१८ फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । आफ्नै नगरबाट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको क्लबले प्रतियोगिताका दौरानमा कम्तिमा ११ वटा वडाबाट ४५ जना खेलाडी प्रारम्भिक चरणमा छनोट गरेको थियो ।

क्लबले यही चैत १ गतेदेखि झापाको अर्जुनधारा ७ स्थित अर्जुनधारा खेल मैदानमा फुटबल प्रशिक्षण सुरु गर्ने भएको छ । क्लबले आयोजना गरेको प्रथम यू-१८ वडास्तरीय फुटबल प्रतियोगिताको बुधबार आय-व्यय विवरण सार्वजनिक गर्दै भावी कार्यक्रममा क्लबले फुटबल प्रशिक्षण सुरु गर्ने निर्णय सार्वजनिक गरेको हो । तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा सबै वडाबाट जम्मा ५४ जना खेलाडी सहभागी हुने क्लबका सचिव एवम् प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष हरि गुरुङले जानकारी दिए । सस्तो शुल्कमा सञ्चालन हुने प्रशिक्षणका लागि ५४ जनामध्ये उत्कृष्ट १५ जनालाई छनौट गरी निःशुल्क प्रशिक्षण दिइने क्लबको लक्ष्य रहेको छ ।

तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षणको मुख्य प्रशिक्षक पुष्प मादेन लिम्बू रहने छन् । आयोजक समितिका संयोजक सुरेन राईको अध्यक्षता र अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कोषाध्यक्ष गुरुङले प्रतियोगिताको आय-व्यय विवरण सार्वजनिक गरेका थिए ।

प्रस्तुत विवरणमा प्रतियोगिताको जम्मा आम्दानी चार लाख ४२ हजार तीन सय ८१ रुपैयाँ, जम्मा खर्च तीन लाख सात हजार तीन सय रुपैयाँ र जम्मा बचत एक लाख ३५ हजार ८१ रुपैयाँ उल्लेख गरिएको छ । जम्मा बचत रकममध्ये ५० हजार रुपैयाँ फुटबल खेलको प्रबद्र्धन र खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिने अक्षयकोषको लागि विनियोजन गरिएको प्रतियोगिताका संयोजक राईले जानकारी दिए ।

क्लबले सञ्चालन गर्ने सकारात्मक कार्यहरुको लागि वडा र नगरपालिकाकोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रमुख अतिथि वडाध्यक्ष खडिवडाले अक्षयकोषको लागि पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले गरेका थिए ।

Post Comments