
रामपुर । पाँचौं रामपुर मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ७ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ५ लाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
वार्ड नम्बर ७ का लागि खेलको छैठौं मिनट मै हरि सारुले पहिलो गोलको खाता खोले । दोस्रो हाफतर्फ ४७औं मिनटमा अनिल सुनारले वार्ड नम्बर ७ का लागि दोस्रो गोल गरे । जुन निर्णायक गोल पनि बन्यो । उता पराजित वार्ड नम्बर ५ का लागि निर बहादुर सोमैले ५२औं मिनटमा एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
व्यक्तिगत विधातर्फ प्रनिल हमाल उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट डिफेन्डर कसम मल्ले घोषित भए भने उदीयमान खेलाडी निर बहादुर सोमै चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार गौरव क्षेत्रीले हात पार्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी सन्दिप मल्ल घोषित भए ।
रामपुर नगरपालिका, पाल्पाको आयोजना तथा रामपुर नगर खेलकुद विकास समिति, पाल्पाको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेताले ३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गरिएको रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले बताए । मेयर कपतर्फ अन्य खेलकुद प्रतियोगिताहरुमा विजयी हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको नगर खेलकुद समितिका महासचिव राजु गुरुङ्गले जानकारी दिए ।