News फिफा कँग्रेसमा हिंडेका एन्फा उपाध्यक्ष शाही एयरपोर्टबाटै फर्किएपछि...
गोलनेपाल

काठमाडौं । अफ्रिकी राष्ट्र रुवाण्डामा हुने फिफा कँग्रेसमा सहभागि हुन त्यसतर्फ जानका लागि हिंडेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही सोमबार गन्तव्यतर्फ नपुगी विमानस्थलबाटै फर्किएका छन् । यसबारे शाही स्वयंले सामाजिक सञ्जालमार्फत जानकारी गराएपछि यो कुराले अहिले नेपाली फुटबल जगतमा तरंग पैदा गरेको छ ।

फिफा कँग्रेसमा सहभागि हुन उपाध्यक्ष शाहीसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरन राईको नाम सामेल थियो । शाहीलाई त्यसतर्फ जानका लागि भिसा र टिकट पनि आइसकेको थियो । तर शाहीले सोंचेअनुसार फिफा कँग्रेसका लागि रुवाण्डातर्फ जान सकेनन् ।

घरपरिवारबाट विदा भई विमानस्थलतर्फ निस्केका शाहीले आफू गन्तव्यतर्फ जान नसकेपछि निराशा र आक्रोश पोखेका छन् । साथै आफूलाई सार्वजनिक रुपमै अपमानित भएको महशुस गरेका छन् । उनले आफूसँग सल्लाह गरी वा पूर्व जानकारी दिई यस्तो गरेको भए आफू यति अपमानित भएको महशुस गर्नुपर्ने थिएन भन्ने उपाध्यक्ष शाहीको भनाई छ ।

शाहीको आक्रोश एन्फा अध्यक्ष नेम्वाङतर्फ नै छ । गत असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङलाई जिताउन खटेर लागेका शाहीले निर्वाचनपछि भने अध्यक्ष नेम्वाङको कार्यशैलीप्रति असन्तुष्टी पनि जनाउँदै आएका थिए । स्पष्टवक्ताका रुपमा समेत आफूलाई उभ्याएका उपाध्यक्ष शाहीले एन्फामा भएका अवैधानिकता र अनियमितताबारे पनि आवाज उठाउँदै आएका छन् ।

‘घरबाट विदावारी भएर गईसकेको व्यक्तिले घर गएर के भन्ने?’ शाहीले आफ्नो सामाजिक सञ्जालमा लेख्दै आक्रोशसहित प्रश्न गरेका छन् । शाही लेख्छन्, 'करिब ४० बर्ष इमान्दारी‌ पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।'

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका शाहीले एन्फा अध्यक्ष नेम्वाङलाई यस घट्नाबारे एन्फा कार्यसमितिको आगामी बैठकमा जवाफ दिनुपर्ने पनि स्पष्ट पारेका छन् । उनले अन्तिममा लेखेका छन्, 'फुटबलसँग आबद्ध सबैसँग के अनुरोध गर्न चाहन्छु भने विदेश जानु ठूलो कुरा होइन। जुन तरिकाले म अपमानित भएको छु, अन्य साथीहरूले यस किसिमको अपमानित हुनु नपरोस। यस्ता किसिमको गलत कार्यको हरेक तहबाट सबैको सहयोग र सदभावको आशा राखेको छु।'

Post Comments