News सनसनीपूर्ण जितका साथ सुदुरपश्चिम फाइनलमा
सुरज राना मगर

बुटवल । सनसनीपूर्ण जितका साथ सुदुरपश्चिम–११ यहाँ जारी २२औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा बलियो प्रत्याशी तथा पूर्व विजेता थ्रीस्टार क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सुदुरपश्चिम उपाधि नजिक पुगेको हो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलको ८७औं मिनटमा फागुराम थारुले गरेको सुन्दर गोल नै सुदुरपश्चिमलाई पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुर्याउन निर्णायक बन्यो । उता खेलमा थ्रीस्टारले पाएको केही राम्रो अवसरहरुलाई सदुपयोग गर्न नसक्दा निराश बन्न पुग्यो ।

खेलमा सुदुरपश्चिम कै बिष्णु चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे । प्रतियोगिता अन्तरगत चैत ९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्डस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments