News सगरमाथा इटहरी गोल्डकपको फाइनलमा
गोलनेपाल

इटहरी । सगरमाथा फुटबल क्लब, मोरङ्ग यहाँ जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा सगरमाथाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

इटहरी रंगशालामा भएको खेलको चौथो मिनट मै राजीव लोप्चनको गोलबाट सगरमाथाले खेलमा अग्रता लिएको थियो । १२औं मिनटमा स्टेफनले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ५१औं मिनटमा मेसुकेले तेस्रो गोल गर्दै सगरमाथाको जित पक्का गरे । उता मच्छिन्द्रका लागि खेलको अन्तिमतिर ८८औं मिनटमा आफिज ओलावालेले पेनाल्टीबाट एक गोल फर्काए तापनि लिग च्याम्पियनको हार टार्न सकेनन् ।

खेलमा सगरमाथाका स्टेफन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments