News आर्मीलाई हराउँदे चर्च ब्वाईज फाइनलमा
गोलनेपाल

इटहरी । आत्मघाती गोल उपहार बन्दा चर्च ब्वाईज युनाइटेड क्लब जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा उपाधिको बलियो प्रत्याशी त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै चर्च ब्वाईज फाइनलमा प्रवेश गरेको हो ।

इटहरी रंगशालामा भएको खेलको २२औं मिनटमा आर्मीका दिपक गुरुङ्गले गरेको आत्मघाती गोल नै चर्च ब्वाईजलाई फाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । खेलमा चर्च ब्वाईजका फ्र्याङ्लिन ताल्ला म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र मेडल हात पारे ।

चर्च ब्वाईजले अब फाइनलमा चैत ११ गते शनिबारका दिन सगरमाथा युथ क्लब, मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments