News १३औं जितपुर सिमरा गोल्डकपमा भरतपुरको विजयी शुरुवात
गोलनेपाल

सिमरा । बिहीबारदेखि शुरु १३औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा केबिए ग्लोबल भरतपुर एफसीले विजयी शुरुवात गरेको छ । सिमरा रंगशालामा भएको उद्घाटन खेलमा भरतपुरले आयोजक नव जनजागृति युवा क्लब, सिमरालाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

भरतपुरले खेलको सातौं मिनटमा भिष्म क्षेत्रीको गोलबाट खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलको ३३औं मिनटमा ग्लोरीले पेनाल्टीमार्फत आयोजकका लागि बराबरी गोल फर्काएका थिए । तर त्यसपछि भरतपुरका लागि सुनिल श्रेष्ठले दुई गोल गर्दे टोलीको जित पक्का गरेका थिए । श्रेष्ठले पहिलो व्यक्तिगत गोल पेनाल्टीबाट गरेका थिए भने दोस्रो गोल खेलको अन्तिमतिर गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

भरतपुरको जितमा निर्णायक बनेका सुनिल श्रेष्ठ नै म्यान अफ द म्याच चुनिए । यो जितसँगै भरतपुर क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत १० गते शुक्रबारको खेल बिरगंज युनाइटेड र बागमती युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

नव जनजागृति युवा क्लब, जितपुर सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत १८ गतेका दिन हुनेछ ।

Post Comments