
धनगढी । छैठैं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपमा बागमती युवा क्लब, सर्लाहीले विजयी शुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा बागमतीले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
धनगढी रंगशालामा भएको खेलको चौथो मिनट मै अनिल राना मगरले गरेको एक मात्र गोल बागमतीलाई जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै बागमती प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । निर्णायक गोलकर्ता अनिल राना मगर नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत चैत १० गते शुक्रबारको खेल एभनिर एफसी, क्यामरुन र खुमलटार एफसीबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्तमका बीच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत १८ गतेका दिन हुनेछ ।