News जितपुर सिमरा गोल्डकपको फाइनलमा चर्च ब्वाईज
गोलनेपाल

सिमरा । घरेलु फुटबलमा बलियो पकड बनाईरहेको चर्च ब्वाईज युनाइटेड क्लब जारी १३औं जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता न्युरोडटिम (एनआरटी) लाई २–० ले हराउँदै चर्च ब्वाईज उपाध नजिक पुगेको हो ।

खेलको १७औं मिनटमा जोसेफ बेम्पाहको पेनाल्टी गोलबाट चर्च ब्वईजले खेलमा अग्रता लिएको थियो । चर्च ब्वाईजले दोस्रो गोल भने दोस्रो हाफमा गर्यो । ५२औं मिनटमा रन्जित पाण्डेले टोलीका लागि दोस्रो तथा अन्तिम गोल गर्दै चर्च ब्वाईजको जित सुनिश्चित गरे ।

खेलमा चर्च ब्वाईजका कमल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १३ हजार र ट्रफी हात पारे । चर्च ब्वाईजले अब १८ गते हुने फाइनलमा हिमालयन शेर्पा क्लबसँग उपाधिका लागि भिड्नेछ ।

नव जनजागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments