News एभनिरले जित्यो भोजपुर गोल्डकप
गोलनेपाल

भोजपुर । बिहीबार सम्पन्न छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभनिर फुटबल क्लब, क्यामरुनले जितेको छ । उपाधि जित्ने क्रममा एभनिरले आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले हरायो ।

एभनिरको जितमा खेलको ४२औं मिनटमा न्युगिनीले पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा टिम्बा टिम्बाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका धिरज मगर चुनिए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै विजेता बनेको एभनिरले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता भोजपुरले ३ लाखमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एभनिरका एलाईन चुनिए । उत्कृष्ट डिफेन्डर पनि एभनिर कै एनसानगुई घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि एभनिरका एन गुईन बने भने उत्कृष्ट प्रशिक्षक पनि एभनिर कै सागर लामा घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार एभनिरका टिम्बा टिम्बा र भोजपुरका सन्तोष तामाङले संयुक्त रुपमा हात पारे । उनीहरुले पुरस्कार वापतको ६५ सय आपसमा बाँडे । उदियमान खेलाडी भोजपुरका विनुप राई घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि भोजपुरका बिजय भुजेल घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजनमा चैत १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments