News भैरव एफसी माछापुच्छ्रे कपको क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । संघर्षपुर्ण जितका साथ भैरव फुटबल क्लब, नयाँगाउँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ भैरवले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको २३औं मिनटमा रोशन गुरुङको गोलबाट भैरवले खेलमा अग्रता बनाएको थियो । भैरवले पहिलो हाफसम्म सोही अग्रतालाई कायम पनि राख्यो ।

दोस्रो हाफतर्फ ५३औं मिनटमा संगम सुनारले नवयुवाका लागि बराबरी गोल फर्काए । यद्यपि त्यसको दुई मिनट लगतै मोहन थापाले गोल गर्दै भैरवलाई खेलमा दोस्रोपटक अग्रता दिलाएका थिए । तर ६८औं मिनटमा बिनय बस्नेतले नवयुवाका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याएका थिए ।

त्यसपछिको पेनाल्टी शुटआउटमा भने भैरवले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा भैरवका मोहन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत १७ गतेको प्रिक्वाटरफाइनल खेल आयोजक भाछापुच्छ्रे फुटबल क्लब, भैरहवा र फर्साटिकर युथ क्लब, फर्साटिकरबीच हुनेछ ।

माछापुच्छ्रे फुटबल क्लबको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत २७ गतेका दिन हुनेछ ।

Post Comments