News नेपाललाई प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि
गोलनेपाल

काठमाडौं । रोमाञ्चक पूनःरागमन गर्दै शुक्रबार सम्पन्न प्धानमन्त्री थ्री नेशन्स कपको उपाधि आयोजक नेपालले जितेको छ । दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपालले लाओसलाई २–१ ले हराउँदै विजेता बन्न सफल भएको हो ।

खेलमा शुरुवाती गोल खाएर पछि परेको स्थित उल्टाउँदै नेपालले उपाधिमाथि कब्जा जमाउन सफल भयो । खेलको १७औं मिनटमा संगभिलायको गोलबाट लाओसले सनसनीपूर्ण अग्रता बनाउँदा घरेलु टोली नेपाल र नेपाली समर्थक चुकचुकाउन पुगेका थिए ।

यद्यपि नेपाललाई खेलमा फर्कन धेरैबेर लागेन । २४औं मिनटमा युवा स्टार आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ कै बराबरीमा सकियो । नेपालले खेलमा जित हात पार्न भने अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । ८७औं मिनटमा मनिष डाँगीले दोस्रो तथा निर्णायक गोल गर्दै नेपालको जित पक्का गरेका थिए ।

निर्णायक गोलकर्ता डाँगी खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसवापत उनले २५० अमेरिकी डलर हात पारे । त्यस्तै प्रतियोगिता कै उत्कृष्ट खेलाडी बनेका आयुष घलानले ५ सय अमेरिकी डलर प्राप्त गरे ।

स्मरण रहोस, प्रतियोगिताभरि अपराजित नेपालले लिग चरणको पहिलो खेलमा लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । त्यस्तै लाओसले भने भुटानलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

Post Comments