News प्लानिङ ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । क्षमादेवी प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङले आमुक्त परिवार, दार्जिलिङ्ग, भारतलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको आठौं मिनटमा टिम्बा टिम्बाको गोलबाट प्लानिङले खेलमा गोलको खाता खोलेको थियो । २७औं मिनटमा प्रताप राईले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ७७औं मिनटमा स्टिमले तेस्रो गोल गर्दै प्लानिङको प्रभावशाली जित पक्का गरे ।

खेलमा प्लानिङका प्रताप राई म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत १८ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल ब्वाईज युनियन क्लब, काठमाडौं र केबिए ग्लोबल भरतपुर एफसी, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।

Post Comments