News खप्तड गोल्डकपमा एभनिरलाई प्रतिवन्ध (विज्ञप्तीसहित)
गोलनेपाल

धनगढी । छैठौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो सेमिफाइनलतर्फ बुधबार मनाङ मस्र्याङ्दी क्लब र एभनिर एफसी, क्यामरुनबीच भएको खेलबारे विभिन्न सञ्चारमाध्यमहरुमा आएको खबरप्रति आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले विज्ञप्ती जारी गरी स्पष्टीकरण दिएको छ ।

स्मरण रहोस, उक्त खेलमा ९ खेलाडी लिएर मैदानमा उत्रिएको एभनिरलाई मनाङले ६–० को फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । खेलमा विवाद कै क्रममा रेफ्रीले एभनिरका थप दुई खेलाडीलाई रातो कार्ड देखाउँदा अफ्रिकी टोली पूरा खेल अवधिभर ७ खेलाडीमा खुम्चिएको थियो ।

यसबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आएको खबरपश्चात आयोजकले स्पष्टीकरण दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रत्येक क्लबहरुलाई १८ खेलाडीहरुको कोटा दिइएको तर एभनिरले खेल हुने दिन ड्रेसिङ्ग रुममा १० खेलाडी लिएर मात्र उपस्थित जनाएको थियो । त्यसमध्ये भिषा प्रक्रिया पूरा नगरेकाले फ्रेडरिचलाई मैदान प्रवेश गर्न रोक लगाइएको बताएको छ ।

साथै प्राविधिक कमिटी, रेफ्री सदस्यको सुझाव र फिफाको नियम अनुसार एभनिरको ९ खेलाडी मात्र सामेल गरी खेल अगाडी बढाइएको समेत आयोजकले जनाएको छ । यद्यपि एभनिरको यो कार्यशैलीप्रति भने आयोजक सुदुरपश्चिम–११ रुष्ट बनेको छ ।

“देशकै प्रतिष्ठित फुटबल कार्यक्रमको सेमिफाइनल जस्तो महत्वपूर्ण खेलमा ९ जना मात्र खेलाडी लिएर उपस्थित भएको एभनिर एफसीले आयोजकलाई धोका दिंदा यो समस्या आएको हो ।” आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगितालाई स्तरीय बनाउन बिदेशी टोलीलाई सामेल गरिएको र एन्फाको वार्षिक क्यालेण्डर र स्वीकृतिमा सञ्चालन गरिएको प्रतियोगितामा यस किसिमको लापरवाही गर्ने एभनिर एफसीलाई खप्तड गोल्डकपको कुनै पनि संस्करणमा सहभागिता नगराउने पनि आयोजकले उल्लेख गरेको छ । साथै क्लबलाई आवश्यक कारवाही गर्न एन्फासँग माग समेत गरेको छ ।

स्मरण रहोस, प्रतियोगिताको फाइनल खेल शनिबार मनाङ मस्र्याङुदी क्लब र थ्रीस्टार क्लबबीच हुँदैछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

हेर्नुहोस विज्ञप्तीको पूरा अंशः

Post Comments