News सहज जितका साथ आहाना क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । सहज जित हात पार्दै आहाना फुटबल क्लब, बुटवल जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ आहानाले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई ४–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पक्लिहवा कृषि क्याम्पस खेलमैदानमा भएको खेलको १७औं मिनटमा शरद क्षेत्रीको गोलबाट आहानाले खेलमा अग्रता बनाएको थियो । थप तीन गोल भने आहानाले दोस्रो हाफमा गर्न सफल भयो । दोस्रो हाफ शुरु भएको तेस्रो मिनटमै शरद क्षेत्रीले नै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफमा थप पकड बलियो बनाएको आहानाका लागि ७४औं मिनटमा सफल थापाले तेस्रो गोल गरे भने लगतै मिनल मगरले चौथो गोल गर्दै टोलीको उत्कृष्ट र सहज जित पक्का गरेका थिए ।

खेलमा आहानाका लागि दुई गोल गरेका शरद क्षेत्री म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष युवराज थापाले नगद र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत १९ गते आइतबारको अन्तिम प्रिक्वाटरफाइनल खेल न्यू सिर्जना एफसी, करौजिया र फोर ब्रदर्श एफसी, नवलपरासीबीच हुने खेल संयोजक जिवन सुनारले जानकारी दिए ।

माछापुच्छ्रे फुटबल क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments