News सहज जितका साथ लुम्बिनी ज्ञानज्योति सेमिफाइनलमा
सुरज राना मगर

भैरहवा । सहज जित हात पार्दै लुम्बिनी ज्ञानज्योति क्लब, सियारी जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी ज्ञानज्योतिले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सिद्धार्थनगर–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलको छैठौं मिनट मै जनम लिगलको गोलबाट लुम्बिनी ज्ञानज्योतिले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा कप्तान बिशाल शाही र आशिष ज्ञवालीले थप दुई गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

खेलमा लुम्बिनी ज्ञानज्योति कै गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत २१ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल लुम्बिनी खुकुरी क्लब, बेलहिया र देदवह ब्वाईज, ढेकावरबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२, झण्डीबजारको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments