News ब्वाईज युनियन फाइनलमा, उपाधिका लागि प्लानिङ ब्वाईजसँग भिड्ने
गोलनेपाल

बराहक्षेत्र । उत्कृष्ट जितका साथ ब्वाईज युनियन क्लब, काठमाडौं यहाँ जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा ब्वाईज युनियनले कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ब्वाईज युनियनको जितमा खेल शुरु भएको दोस्रो मिनट मै हरि कठायतले गोलको खाता खोलेका थिए । १६औं मिनटमा रुपेश क्षेत्रीले त्यो अग्रता दोब्बर पारे । लगतै ३६औं मिनटमा हरि कठायतले नै व्यक्तिगत दोस्रो तथा ब्वाईज युनियनका लागि तेस्रो गोल थपे ।

उता ४७औं मिनटमा अनिष राईले कञ्चनजंघाका लागि एक गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर उनको त्यो प्रयास सफल भएन् । ब्वाईज युनियनका लागि ८३औं मिनटमा सुशान्त तामाङले चौथो गोल गर्दै टोलीको प्रभावशाली जित र फाइनल स्थान पक्का गरेका थिए ।

खेलमा दुई गोल गरेका ब्वाईज युनियनका हरि कठायत म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ५ हजार र मेडल हात पारे । ब्वाईज युनियनले अब २२ गते हुने फाइनलमा क्षमादेवी प्लानिङ ब्वाईज युथ क्लबसँग उपाधिका लागि भिड्ने छ ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments