News उत्कृष्ट जितका साथ देवदह ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

भैरहवा । उत्कृष्ट जित हात पार्दै देवदह ब्वाईज जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ देवदहले साविक विजेता लुम्बिनी खुकुरी क्लबलाई ५–१ ले हरायो । देवदहको जितमा सुरज थारु र सन्दिप चौधरीले दुई–दुई गोल गरे । थप एक गोल भने प्रदिप मगरले गरे । उता पराजित लुम्बिनी खुकुरीका लागि सुवास तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।

खेलमा देवदहका सुरज थारु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत २२ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र फोर ब्रदर्श एफसी, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे क्लब, झण्डीबजारको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments