News फर्साटिकर माछापुच्छ्रे कपको अन्तिम चारमा
सुरज राना मगर

भैरहवा । सहज जितका साथ फर्साटिकर युवा क्लब यहाँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलमा फोर ब्रदर्श एफसी, नवलपरासीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फर्साटिकर अन्तिम चारमा प्रवेश गरेको हो ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि कृष्ण राना, बलराम न्यौपाने र आशिष रानाले एक–एक गोल गरे । खेलमा फर्साटिकरका बलराम न्यौपाने म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत २३ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल आहना एफसी, बुटवल र भैरव एफसी, नयाँ गाउँबीच हुने खेल संयोजक जिवन सुनारले जानकारी दिए ।

माछापुच्छ्रे क्लब, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments