News शिर्ष स्थानमा उक्लियो मनाङ
गोलनेपाल

काठमाडौं । पूर्व विजेता मनाङ मस्र्याङ्दी क्लब शुक्रबार जारी शहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । च्यासल स्टेडियममा भएको खेलमा मनाङले फ्रेण्डस क्लब विरुद्ध २–० को जित दर्ता गर्यो ।

मनाङका लागि दुवै गोल टिमोथी कुडुको नाममा रह्यो । उनले पहिलो हाफको ३४औं मिनटमा र दोस्रो हाफको ५१औं मिनटमा गरी दुवै गोल आफ्नो नाममा लेखाए । टिमोथी खेलको म्यान अफ द म्याच पनि चुनिए ।

यो जितसँगै ६ खेलबाट १४ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको जावलाखेलको पनि ७ खेलबाट १४ अंक छ । यद्यपि शुक्रबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले खुमलटारसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्ेपछि मनाङलाई शिर्ष स्थान कब्जा गर्न सहज भएको हो ।

त्यस्तै मनाङसँग पराजित फ्रेण्डस ६ खेलबाट ४ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली एनआरटी भन्दा १ अंकले मात्र अगाडी छ । उता जावलाखेलसँग २–२ गोलको बराबरी खेलेको खुमलटार भने सात खेलबाट ७ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

Post Comments