News चर्च ब्वाईजद्वारा रेफ्रीमाथि छानविन र कारवाहीको माग
गोलनेपाल

काठमाडौं । यसै सिजन शिर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाईज युनाइटेड क्लबले रेफ्रीको निर्णयप्रति गम्भिर आपत्ती जनाउँदै त्यसबारे आवश्यक छानबिन गर्न र कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जारी ए डिभिजन लिगको खेल नम्बर ४८ अन्तरगर्त सोमबार चर्च ब्वाईज र एपिएफ बीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेलमा चर्च ब्वाईजले रेफ्रीका कारण बराबरी खेल्न बाध्य बनेको आरोप लगाएको छ । सो खेलका सहायक रेफ्री प्रकाश भुजेलले चर्च ब्वाईजको एउटा गोललाई अफसाईड दिएपछि रेफ्रीको त्यो निर्णयप्रति चर्च ब्वाईज रुष्ट बनेको छ ।

साथै चर्च ब्वाईजले लेखेको पत्रमा त्यो गोल कुनै पनि हालतमा अफसाईड नरहेको दावी समेत गरेको छ । “सिमित श्रोत जुटाएर एउटा क्लबले वर्षौं लगानी र मेहनत गरेर फुटबलमा आएको हुन्छ । कुनै पनि रेफ्री वा लाइन्सम्यानको गलत निर्णयले गर्दा क्लबको करोडौं लगानी खेर जाने गरेको नेपाली फुटबलमा नौलो होईन । हामी सबै मानिस हौं र कहिले काहिं गल्ती हुन्छ । तर जब गल्ती पटक पटक दोहोरिन्छ, त्यो कमजोरी सुधार्न हामीले कदम चाल्नुपर्छ ।” क्लबले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

चर्च ब्वाईजले पछिल्लो समय रेफ्रीको गलत निर्णय कै कारण फुटबलले घाटा बेहोरीरहेको दावी पनि गरेको छ । स्मरण रहोस, चर्च ब्वाईज र एपिएफबीचको सो खेलमा मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठ थिए भने सहायक रेफ्रीका किशन कन्हैया यादव र प्रकाश भुजेल थिए ।

चर्च ब्वाईजले एन्फालाई लेखेको पत्रमा सहायक रेफ्री भुजेलको त्यो निर्णयबारे आवश्यक छानबिन गरी कारवाही गर्न अनुरोध समेत गरेको छ ।

हेर्नुहोस पत्रको पूरा अंशः

 

Post Comments