News माउण्ट स्टार कपमा सेभेन स्टार र सुनवलको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । आइतबारदेखि शुरु प्रथम माउण्ट स्टार खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा सेभेन स्टार क्लब र सुनवल भेट्रानले विजयी शुरुवात गरेका छन् ।

नहरपुर माविको खेलमैदानमा भएको उद्घाटन खेलमा सेभेन स्टारले मगर ब्वाईज चरङ्गेलाई शून्यका विरुद्ध १ गोलले हरायो भने अर्को खेलमा सुनवल भेट्रानले गुड मर्निङ एफसी (ए) लाई समान १–० को अन्तरले पराजित गर्यो ।

जित हात पार्ने सेभेन स्टार र सुनवल भेट्रान दुवै टोली प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्राचार्य तथा शैक्षिक व्यक्तित्व तोयाराम पौडेल, युवा समाजसेवी नकुल शाही ठकुरी, प्रतियोगिता संयोजक बिनोद गौतम क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।

गुड मर्निङ एफसी, बुटवल–११ रुपन्देहीको आयोजना तथा माउण्ट स्टार युथ क्लबको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कुल ३५ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने बैशाख ९ गतेका दिन हुने प्रचार प्रसार संयोजक सुनिल क्षेत्रीले जानकारी दिए ।

Post Comments