News चन्द्र स्मृति कपमा गुर्भाकोट, बुद्धपथ र भेरी एकताको जित
गोलनेपाल

मेहेलकुना । यहाँ जारी चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तरगत गुर्भाकोट, बुद्धपथ क्लब र भेरी एकता क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

सुर्य ज्योति माविको खेलमैदानमा भएको दिनको पहिलो खेलमा गुर्भाकोटले फुलबारी क्लबलाई २–१ ले हरायो । गुर्भाकोटको जितमा निराजन सिंह ठकुरी र चौतम चौधरीले गोल गरे । उता पराजित फुलबारीले भने अनिल कुमारको आत्मघाती गोल उपहार पाएको थियो ।

त्यस्तै दोस्रो खेलमा बुद्धपथ स्पोर्टस क्लबले स्काई क्लबलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बुद्धपथका लागि संगम सारु मगरले गोल गरेका थिए भने स्काईका लागि अरुण गाहा मगरले गोल गरेका थिए । टाईब्रेकरमा भने बुद्धपथले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यसैगरी तेस्रो खेलमा भेरी एकताले गुर्भाकोट क्लब (बी) लाई १–० ले हरायो । भेरी एकताको जितमा रबी बान्ताले एक मात्र गोल गरे ।

श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ८ गतेका दिन हुनेछ ।

Post Comments